गजाधर सोतीका घर बुढि अलच्छिन्कि रहिछन्
नरक् जाना लाई सब सित बिदा बादि भइ छन् ।
पुग्यौं सांझ् मा तिन्काघर पिढिमहां बास गरियो
निकालिन् सांझैमा अलिक पर गुल्जार गरियो ।।’
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको नामसँग जोडिएको एउटा चर्चित प्रसङ्ग हो— "गजाधर सोतीका घर बास मागेको र अपमानित भएपछि श्लोक रचेको" भन्ने कथा।
यो प्रसङ्ग दशकौँदेखि पाठ्यपुस्तक, लेख र जनश्रुतिमा दोहोरिँदै आएको छ। तर पछिल्ला अनुसन्धान, जीवनचरित्र र समीक्षाहरू पढ्दै जाँदा एउटा गम्भीर प्रश्न उठ्छ—
के यो घटना साँच्चै मोतीराम भट्टले वर्णन गरेजस्तै भएको थियो?
यो प्रश्न उठाउनु न आदिकवि भानुभक्तको सम्मान घटाउनु हो, न गजाधर सोती परिवारको पक्षपोषण गर्नु हो। बरु इतिहासलाई प्रमाण, तर्क, सामाजिक परिवेश र शास्त्रीय मर्यादाका आधारमा पुनः बुझ्ने प्रयास हो।
मोतीराम भट्टको विवरण नै अन्तिम सत्य हो?
भानुभक्तको पहिलो विस्तृत जीवनी मोतीराम भट्टले लेखे। उनले नै गजाधर सोतीकी पत्नीले भानुभक्तलाई साँझपख बास नदिई घरबाट निकालिदिएको प्रसङ्ग उल्लेख गरेका हुन्। त्यही प्रसङ्गसँग जोडेर प्रसिद्ध श्लोक पनि प्रस्तुत गरिएको छ—
"गजाधर् सोतीका घर बुढि अलच्छिन्किन रहिछन्..."
तर इतिहासको एउटा सामान्य नियम छ— पहिलो लेखकको वर्णन नै अन्तिम सत्य हुँदैन।
यही कारणले पछि ब्रह्मशम्शेर, पण्डित कविराज नरनाथ आचार्य लगायतका अनुसन्धानकर्ताहरूले मोतीरामको विवरणमाथि गम्भीर प्रश्न उठाएका छन्।
अझ रोचक कुरा त के छ भने मोतीरामले भानुभक्तको जन्मसमेत वि.सं. १८६९ लेखे, तर पछि भानुभक्तकी नातिनी विष्णुमायादेवीले प्रमाणसहित वि.सं. १८७१ नै सही भएको दाबी गरिन्। यसबाट मोतीरामका सबै विवरण निर्विवाद सत्य हुन् भन्न सकिँदैन भन्ने देखिन्छ।
पहिलो प्रश्न : "अतिथि देवो भव" भएको समाजमा यस्तो अपमान सम्भव थियो?
त्यो समयको हिन्दू समाजमा "अतिथि देवो भव" केवल एउटा उक्ति थिएन।
त्यो गृहस्थ धर्मको अभिन्न संस्कार थियो।
साँझपख घरमा आएको यात्रुलाई सकेसम्म बास, भोजन र सत्कार गर्ने परम्परा समाजभर थियो। अहिले पनि ग्रामीण समाजमा यसको प्रभाव देखिन्छ भने त्यो समय झन् बढी थियो।
त्यसैले एउटा सामान्य प्रश्न उठ्छ—
के कुनै गृहस्थ परिवारले कुनै कारणविना अतिथिलाई अपमान गरेर साँझै घरबाट लखेट्थ्यो?
यो कुरा सहजै विश्वास गर्न गाह्रो छ।
दोस्रो प्रश्न : यदि घरमा सासू–बुहारी मात्र थिए भने?
मानौँ मोतीरामले भनेझैँ घरमा पुरुष थिएनन्, केवल सासू र बुहारी मात्र थिए।
त्यस अवस्थामा अर्को प्रश्न उठ्छ—
के भानुभक्तजस्ता शास्त्रपारङ्गत, उच्चकुलीन, सदाचारी ब्राह्मण कविले त्यस्तो घरमा राति बास बस्न आग्रह गरिरहनुहुन्थ्यो?
त्यतिबेलाको सामाजिक मर्यादा के भन्थ्यो?
पुरुष नभएको घरमा अपरिचित पुरुषले राति बास बस्नु उचित मानिँदैनथ्यो।
अर्कोतर्फ, घरमा पुरुष नभएको अवस्थामा महिलाले अपरिचित पुरुषलाई बास नदिनु पनि समाजले स्वीकार गरेको सावधानी थियो।
त्यसैले यदि वास्तवमै यस्तो अवस्था थियो भने दोष कसको?
सायद कसैको पनि होइन।
त्यो तत्कालीन सामाजिक मर्यादाको पालन मात्र हुन सक्थ्यो।
तेस्रो प्रश्न : भानुभक्तको शास्त्रीय संस्कारले के भन्छ?
भानुभक्त केवल कवि मात्र थिएनन्।
उहाँ वेद, स्मृति, नीति र धर्मशास्त्र पढेका ब्राह्मण विद्वान् हुनुहुन्थ्यो।
"मात्रा स्वस्रा दुहित्रा वा न विविक्तासनो भवेत्।
बलवानिन्द्रियग्रामो विद्वांसमपि कर्षति।।"
(मनुस्मृति २।२१५)
अर्थात् आफ्नी आमा, दिदी–बहिनी वा छोरीसँग पनि एकान्तमा नबस्नू, किनभने इन्द्रियहरू अत्यन्त बलवान् हुन्छन्।
यदि आफ्नै नजिकका स्त्रीहरूसँग पनि एकान्तबाट बच्नुपर्ने शास्त्रीय मर्यादा थियो भने,
परस्त्री मात्र भएको घरमा भानुभक्तजस्ता शास्त्रज्ञ विद्वान् राति बास बस्न अडान लिने व्यक्ति थिए होलान्?
यो प्रश्न गम्भीर रूपमा सोच्नुपर्ने देखिन्छ।
चौथो प्रश्न : त्यो श्लोक साँच्चै त्यही राति रचिएको हो?
मोतीरामको विवरणअनुसार भानुभक्तले बिहान गजाधरका सानो छोरालाई कागजमा श्लोक लेखिदिए, घोकाए र त्यसपछि अघि बढे।
तर व्यवहारिक रूपमा यो सम्भव देखिन्छ?
छ–सात वर्षको बालकले तत्कालै लामो शिखरिणी छन्दको श्लोक कण्ठ गर्न कति समय लाग्ला?
यात्रामा रहेको एक यात्रुले बिहानै आफ्नो बाटो नलागी केटाकेटीहरु उठेर हिड्ने खेल्ने बेलासम्म त्यति लामो समय त्यहीँ बिताउँथे?
पण्डित कविराज नरनाथ आचार्यले यही प्रसङ्गलाई असम्भवजस्तै बताएका छन्।
पाँचौँ प्रश्न : भानुभक्तको स्वभावसँग यो मेल खान्छ?
भानुभक्तका कविता, वधूशिक्षा, रामायण र अन्य रचनाबाट उहाँको व्यक्तित्व बुझिन्छ।
उहाँ संयमी, विनम्र, शिष्ट र नैतिक आदर्शका पक्षधर कवि हुनुहुन्थ्यो। भानुभक्तका कृतिहरू—रामायण, वधूशिक्षा तथा अन्य रचनाबाट उहाँको संयमी, नैतिक र मर्यादित व्यक्तित्व झल्किन्छ। यदि गजाधर सोती उहाँका परिचित थिए भने, केवल बास नपाएको कारणले उहाँले 'नरक जाने' जस्तो कठोर अभिव्यक्ति प्रयोग गर्नुभयो होला भन्ने कुरा पनि सहजै स्वीकार गर्न गाह्रो हुन्छ।
शास्त्र पनि पढेका, नीति पनि बुझेका, उच्चकुलीन सदाचारी ब्राह्मण पण्डित कवि, नीति र सदाचारका आदर्श, नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य; अर्कोतिर वैदिक श्रुति–परम्परामा प्रतिष्ठित श्रोत्रिय वंशका, संस्कार, आचार र गृहस्थधर्मका पालनकर्ताका रूपमा चिनिएका गजाधर सोती। यी दुवै परिवार तत्कालीन समाजमा सम्मानित, विद्वत् र धार्मिक मर्यादाका प्रतिनिधि मानिन्थे। त्यसैले यस्ता दुई प्रतिष्ठित व्यक्तित्वसँग जोडिएको एउटा घटनालाई केवल किंवदन्तीका आधारमा स्वीकार गर्नु इतिहासप्रति न्याय हुँदैन। उपलब्ध प्रमाण, शास्त्रीय मर्यादा, तत्कालीन सामाजिक परिवेश र पछिल्ला अनुसन्धानलाई सँगै राखेर पुनः परीक्षण गर्नु नै इतिहासप्रतिको बौद्धिक इमानदारी हो। प्रश्न भानुभक्तको सम्मान घटाउने वा गजाधर सोती परिवारको बचाउ गर्ने होइन; प्रश्न त यति मात्र हो—के हामीले दुई सय वर्षदेखि दोहोर्याउँदै आएको कथालाई एकपटक प्रमाण र विवेकको तराजुमा राखेर हेर्ने साहस गर्न सक्छौँ?
के केवल बास नपाएको रिसमा कविले "नरक जाने" जस्तो कठोर अभिव्यक्ति प्रयोग गर्थे?
यो कुरा उहाँको समग्र व्यक्तित्वसँग मेल खाँदैन।
नरनाथ आचार्यको विवेचना
पण्डित कविराज नरनाथ आचार्यले "आदिकवि भानुभक्त आचार्यको सच्चा जीवनचरित्र" मा मोतीरामको विवरणमा धेरै तथ्यगत त्रुटि देखाउनुभएको छ।
उहाँका अनुसार—
दूरीको वर्णन मिल्दैन।
समयक्रम मिल्दैन।
बालकलाई तत्काल श्लोक कण्ठ गराएको कुरा व्यवहारिक देखिँदैन।
भानुभक्तको नैतिक चरित्रसँग कथा मेल खाँदैन।
श्लोक बन्नुको वास्तविक सन्दर्भ हराइसकेको हुन सक्छ, तर पछि त्यससँग जोडिएको कथा अनुमानमा आधारित देखिन्छ।
शर्वराज आचार्यको कल्पनाप्रति पनि प्रश्न
पछि केही लेखकहरूले गजाधर सोतीकी बुहारी र भानुभक्तबीच आकर्षणसमेत भएको कल्पना गरेका छन्।
तर त्यसको कुनै ऐतिहासिक प्रमाण प्रस्तुत गरिएको छैन।
इतिहासमा प्रमाणभन्दा कल्पनाले स्थान पाउनुहुँदैन। कुनै पनि व्यक्तित्वको चरित्रमाथि आरोप लगाउँदा प्रमाण अनिवार्य हुन्छ।
आनन्दवर्धन कौण्डिन्यायनको मत पनि यही दिशातर्फ सङ्केत गर्छ—महिलामात्र रहेका घरमा अपरिचित पुरुषले राति बास माग्नु तत्कालीन हिन्दू सामाजिक मर्यादा र गृहस्थाचारसँग मेल खाने व्यवहार थिएन।
कुनै परिवारको नाम, कुनै स्त्रीको चरित्र र कुनै महापुरुषको व्यक्तित्वसँग जोडिएको प्रसङ्गलाई केवल दोहोर्याइरहनुभन्दा त्यसको तथ्य, प्रमाण र सामाजिक सन्दर्भमाथि पुनः विचार गर्नुपर्छ।
इतिहास श्रद्धाले मात्र लेखिँदैन। इतिहास प्रमाण, विवेक र निरन्तर अनुसन्धानबाट परिमार्जित हुँदै जान्छ।